रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा
नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन।जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ। खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ।
असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा 'रसिया' भनिन्छ भनि पश्चिमाञ्चलतिर 'काँठेभाका' भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ। यस भाकाका फाँकीहरू १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ। असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ।
पहिला पहिला गाइने यो असारे गीत अचेल सुनिन छाडेका छन l मानो रोपेर मुरी फलौउने समयका रुपमा लिने यो समयमा गाइने असारी गीत हराउदै गएको छ l आधुनिकता संगै हाम्रो अमुल्य संस्कृति हराउदै जादा सस्कृति क्षेत्र नासिदै गएको आभास भएको छ l
0 comments:
Post a Comment